प्रकाश धौलाकोटी,
तेह्रथुम, २६ पुस । आगामी स्थानीय निकायको निर्वाचनलाई लक्षित गर्दै तेह्रथुममा नेकपा माओवादी केन्द्रले संगठन सुदृढिकरण अभियान थालेको छ । ‘गाउँ–नगर, घर–घर जाऊ, माओवादी केन्द्रलाई विजय गराऔँ’ भन्ने नारासहित नेकपा माओवादी केन्द्रले जिल्लाव्यापी संगठन सुदृढिकरण अभियान थालेको हो । अभियानको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई गत साता सक्रान्तिबजारमा सम्बोधन तथा प्रशिक्षण गर्दै पार्टीका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुवात गरेका थिए ।


अभियान अन्तर्गत मंगलबार लालीगुराँस नगरपालिका–१, डाँडाखर्क स्थित नेपाल रेडक्रम सोसाइटीको भवनमा नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रममा पार्टीको राजनीतिक बैचारिक अवस्था, आगामी निर्वाचन र संगठन सुदृढिकरणबारे छलफल भएको थियो ।
सहभागी नेता कार्यकर्तालाई माओवादी पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज दुर्गाप्रसाद चापागाई ‘सचिन’ ले स्थानीय निकायको निर्वाचन नजिकिएकाले लक्षित गतिविधि बढाउन निर्देशन दिए । नेता चापागाईले निर्वाचनमा पार्टीलाई जित गराउन सबै कार्यकर्तालाई संगठन सुदृढिकरणमा लाग्न तथा भातृ संगठनलाई चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् । कार्यक्रममा लालीगुराँस नगरपालिकाका ११ वटै वडाका अगुवा कार्यकर्ताहरु सहभागी थिए ।
पार्टीका केन्द्रिय सदस्य तथा नगर ईन्चार्ज धर्म खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक तारा भट्टराई, जिल्ला सदस्य छत्रबहादुर लिम्बु, वाईसीएल जिल्ला इन्चार्ज छिरिङ लामा, नगरकमिटी सहसंयोजक ईश्वर श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमबाट दीर्घरोगबाट पीडित लालीगुराँस नगरपालिका–८ का भीमबहादुर लिम्बुलाई नगद २१ हजार रुपैयाँ उपचारकालागि सहयोग समेत गरिएको माओवादी नेता छिरिङ लामाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार