मधेसी मोर्चाले एमालेले सुनसरीको हरिनगरामा आयोजना गरेको आमसभा रोक्न खोजेपछि तनाव भएको छ । मोर्चाको पकट क्षेत्र मानिएको हरिनगरामा नेकपा एमाले सुनसरीले आयोजना गरेको सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा पार्टीका नेता माधवकुमार नेपाल आउनुभएको थियो ।  बिहानैबाट बजार बन्द गरी प्रदर्शनमा उत्रिएका मधेशी दल सम्वद्ध नेता तथा कार्यकर्ताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि बाक्लो सुरक्षा तैनाथीका कारण सम्भव भने हुन सकेन । कार्यक्रम बिथोल्न सक्ने सम्भावनालाई लक्षित गरी प्रहरीले प्रदर्शनकारीहरुलाई बजार क्षेत्रमै रोके पनि कार्यकर्ता ओसार्न प्रयोग गरिएका यात्रु बसमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।  आगजनी र तोडफोडमा अशोक मेहता र इरफान अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले बसमा प्रेट्रोप बम प्रहार गरेका थिए । आगो तत्काल निभाइएकाले क्षति भने हुन पाएन् । प्रहरीले ५ बोतल पेट्रोल बमसमेत बरामद गरेको छ । प्रदर्शनकारीका तर्फबाट ढुङ्गामुढा हुन थालेपछि प्रहरीले उनीहरुलाई लखेटेको थियो ।  सो क्रममा केही मोर्चा कार्यकर्ता सामान्य घाइतेसमेत भएका छन् । सभालाई सम्बोधन गर्दै नेता नेपालले मधेशमा संविधानबारे छरिएका भ्रम चिर्न मधेशवादीको पकट मानिएका क्षेत्रमा सभाको आयोजना गरिएको बताउनुभयो । नेता नेपालले एमाले मधेसविरोधी नभएको र राष्ट्रको हित चाहने पार्टी भएको बताउनुभयो ।  एमालेको सभामा सहभागी हुन हरिनगरासहित आसपासका ग्रामीण भेगबाट सर्वसाधारण कार्यक्रमस्थल पुगेका थिए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार