अमेरिका, २७ पुस। अमेरिकी राष्ट्रपति बराक ओबामाले आफूले राजनीतिक यात्रा शुरु गरेको शिकागो शहरमा आफ्ना हजारौँ समर्थकको उपस्थितिमाझ बिदाइ सम्बोधन गरेका छन्। समर्थकहरुको निरन्तरको तालीका माझ उनले आफ्नो आठ वर्षे कार्यकालमा अमेरिकालाई थप राम्रो र शक्तिशाली देश बनाएको बताए। ओबामाले आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्धको पुनर्स्थापना र समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने लगायतका कामलाई आफ्ना प्रमुख उपलब्धिका रुपमा प्रस्तुत गरे।

भावुक हुँदै उनले भने, ‘मलाई तपाईहरुले नै उत्कृष्ट राष्ट्रपति बनाउनु भएको हो।’ राष्ट्रपतिहरुबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण नै अमेरिकी प्रजातन्त्रको विशिष्टता भएको उनले बताए। प्रत्येक जनताले आर्थिक अवसर पाउने अवस्था नभए प्रजातन्त्रले काम गर्न नसक्ने ओबामाको भनाइ थियो। अमेरिकामा अश्वेत जातिबाट राष्ट्रपतिका रुपमा सन् २००८ मा ओबामा निर्वाचित हुँदा त्यसले आशा र परिवर्तनको सन्देश बोकेको थियो। उनले आफूले कार्यकाल शुरु गरेको समयभन्दा अहिलेको अमेरिका राम्रो र शक्तिशाली भएको बताए।

तर त्यसबेला आफूले गरेको रंगभेदविनाको अमेरिकाको परिकल्पना यथार्थवादी नरहेको बताए। अहिले पनि जातिवाद अमेरिकाका लागि प्रमुख विभाजनकारी विषय रहेको ओबामाको निचोड थियो। ओबामाको उत्तराधिकारीका रुपमा आगामी ज्यानुअरी २० मा शपथग्रहण गर्न लागेका राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले उनका कतिपय नीतिहरु उल्ट्याउने चेतावनी दिएका छन्। आफ्नो सम्बोधनमा आशावादी देखिएका ओबामाले राष्ट्रपतिहरुबीच शान्तिपूर्ण रुपमा हुने शक्ति हस्तान्तरण अमेरिकी प्रजातन्त्रको, उनकै शब्दमा, आधारशिला भएको बताए।

उनले भने, आठ वर्षअघि भन्दा अहिले अमेरिका हरहिसाबले राम्रो भएको छ, तर लोकतन्त्रलाई हामीले यस्तै त हो भनेर लिन थाल्यौं भने त्यो जोखिममा पर्छ। आर्थिक असमानता, जातीय विभाजन र तथ्यका आधारमा अवधारणा नबनाइ फोका जसरी टिप्पणी गरिने समाजका विभिन्न तहहरु अमेरिकाको लोकतन्त्रका तीन जोखिम भएको ओबामाको भनाइ थियो। उनले अलकायदा नेता ओसामा बिन लादेनसहित दशौँ हजार आतंकवादीलाई समाप्त पारेको भन्दै सुरक्षा निकायहरुलाई धन्यवाद पनि दिएका थिए। बीबीसी


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार