काठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरीले ‘दुईराज्य समाधान’को सुत्रमार्फत इजरायल र प्यालेस्टाइनबीचको विवाद हल गर्ने शान्ति सम्झौता इजरायलका कारण खतरामा परेको बताएको बीबीसीले जनाएको छ । साथै उनले गतसाता संयुक्त राष्ट्रसंघले इजरायलले प्यालेस्टाइन अतिक्रमित भूमिमा अवैध यहुदी वस्ती निमार्ण गर्ने कामको आलोचना गर्दै पारित गरेको प्रस्तावले अमेरिकी मूल्य मान्यताको अवधारणाअनुरुप रहेको बताएका छन् । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने केरीको अभिव्यक्ति सोही यहुदी बस्तीमा केन्द्रित भएको आरोप लगाएका छन् । यसअघि अमेरिकन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई घृणा र अनादर हुन नदिने बताएका छन् । ट्वीट गर्दै उनले इजरायलाइ अर्को महिना उनको कार्यकाल सुरु नभए सम्म बलियो रहन भनेका छन् । गत शुक्रबार प्यालिस्टाइनको अतिक्रमित भूमिमा इजरायलले घर निर्माण र बस्ती विस्तार गरिरहेको कामको आलोचना गर्दै त्यसको अन्त्य गर्न माग गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले एक प्रस्ताव पारित गरेको थियो । यसअघि इजरायलको आलोचना गर्ने त्यस्ता सबै प्रस्तावमा अमेरिकाले इजरायललाई साथ दिँदै भिटो प्रयोग गर्दै आएको भए पनि अमेरिकाले सो प्रस्तावमा भिटो प्रयोग गर्न अस्वीकार गरेको थियो । त्यसपछि इजरायल अमेरिकासँग क्रुद्ध भएको थियो । मतदान हुँदा राष्ट्रसंघीय सुरक्षा परिषदका १५ मध्ये १४ सदस्यले पक्षमा भोट खसालेका थिए भने अमेरिका तटस्थ बसेको थियो ।  यसको बारेमा इजरायलले यो कदमलाई पक्षपाती र लाजमर्दो भन्दै यो प्रस्ताव पारित गर्न अमेरिकाले उचालेको आरोप लगाएको छ भने अमेरिकाले यसलाई अस्वीकार गरेको छ । उक्त प्रस्तावमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर इजरायलले बनाएको संरचना निर्माणको कामप्रति इजरायलको तीब्र आलोचना गरिएको छ । इजरायलले सन् १९६७ मा कब्जा गरेको प्यालेस्टाइनी भूमिमा करिब १४० बस्तीहरु बनाएको छ, जहाँ करिब ५ लाख इजरायलीहरु बस्छन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार