रामेछाप,  एक महिनाअघि रामेछापको साँघुटार– १ कि दुर्गा योगीले दुबै हात नभएको शिशु जन्माएकी थिइन् । दुबै हात नभएको शिशु जन्मिएपछि सबै जना चकित भएका थिए । हेर्नेलाई अचम्म लागेपनि दुबै हात नभएको शिशु जन्मिएपछि चिन्तित बनेको योगी दम्पति शेरबहादुर र दुर्गा अहिले थप समस्यामा परेको छ । स्वभाविक अवस्थामा दुबै हात नभएकी छोरीको जन्म भएपछि चिन्तामा परेका योगी दम्पती छोरी छ महिना पुगेपछि थप चिन्तामा परेका छन् । आर्थिक रुपमा समेत विपन्न रहेका योगीका परिवार गत वैशाखमा गएको भुकम्पले घर भत्किएपछि अस्थायी टहरा मुनि वस्दै आएका छन् । एकातिर अस्थायी टहराको बास, अर्कातिर सम्पत्तिको नाममा एक रोपनी पाखो जमिन र १० जनाको परिवार भएपछि उनीहरुलाई जिविकोपार्जन गर्न समस्या भएको छ । शेरवहादुरका अनुसार जग्गाको उत्पादनले एक महिना पनि खान पुग्ने अवस्था नभएपछि वृद्ध बुबा वाहेक परिवारमा बाँकी रहेका ९ जना दैनिक जिविकोपार्जनको लागि अर्काको घरमा बनिबुतो गर्दै आएका छन् । समस्यै समस्याले जकडिएको परिवारको व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा आफ्नो पहिलो सन्तान नै दुबै हात नभएको जन्मिएपछि उसको भविष्यको चिन्ताले आफूहरुलाई निक्कै सताएको बालिकाका बुबा शेरवहादुर योगीले बताउनुभयो । शेरबहादुरकी पत्नी दुर्गाले दुबै हात नभएकी छोरीको पालनपोषण र शिक्षा दिक्षाको लागि कुनै संघसंस्थाले सहयोग गरे आफ्नालागि वरदान हुने बताउनुभयो । तर अहिलेसम्म कुनै संघसंस्थाले सहयोग त हेर्न समेत नआएको उहाँको गुनासो छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार