मेघराज सापकोटा-

 

एउटा जीवन युनाईटेड अरब ईमिरेट्सको एक राज्य शारजाह स्थित कुबेती अस्पतालमा लडेको छ । झण्डै २ हप्ता अगाडी बाटो काट्ने क्रममा गाडीको ठक्करबाट घाइते भएका जीवन रानाको जीवन कुबेती अस्पतालको अर्थोपेडिक वार्डमा उपचार गर्ने पैसा नभएर अलपत्र परेको छ । ढाडको २ वटा हड्डी भाँच्चिएको छ, खुट्टा भाँच्चिएको छ, खुट्टा चल्दैन, उपचार गर्ने पैसा नभएर दुख्न कम हुने पेनकिलर खाएर अस्पतालको शैयामा छटपटिनु परेको छ । सोच्नुस् त म त्यो स्थानमा भएको भए के गर्थे होला ? के सोच्थे होला ? मेरो जीवनलाई म के संज्ञा दिन्थे होला ?

लगभग जीवनको एक तिहाई आयु पुरा गरेका यी घाइते नेपाली जीवन रानाको अवको बाँकी जीवन कसरी बित्ने होला ? १६ महिनाको छोरो र उमेरदार श्रीमती, बाबुआमा, दिदी बहिनी र भाईको अभिभारा बोक्ने एक बाबु, श्रीमान, जेठो छोरो, दाई र भाई यसरी परदेशको अस्पतालको शैयामा उपचारबिहिन भएर लड्नु परेको कहानी दिनहुँ बिभिन्न अनलाइन समाचारहरुमा पढ्नुपर्दा उनीहरुको मन कति कुँढिएको होला ? कति रोएको होला ? १६ महिने छोरोको ‘बाबा बाबा’ भन्ने तोतेबोली सुनिदिने बाबा अस्पतालको शैयामा कति पिडादायी छ जीवन ।

यी हुन झापा सुरुङ्गाका जीवन राना, जो जीवनको संघर्षमा अस्पतालको शैयाबाट सहयोगको याचना गर्दैछन । युएईमा रहेका धेरै संघसंस्थाहरुको परिक्षाको घडी पनि यही नै हो । एनआरएनए, युएईको अगुवाईमा सहयोग संकलन अभियान चल्दै गरेको पनि छ । बिभिन्न संघसंस्थाहरुले यो अभियानमा हातेमालो गर्लान कि नगर्लान त्यो भने हेर्न बाँकी नै छ । केही राजनीतिक दलहरुको आपसी इश्र्या, ‘ईगो’ यसमा पनि नहोला भन्न सकिन्न । ‘तँ ठुलो कि म ठुलो’ भन्ने प्रतिस्पर्धाको बाछिटा यता पनि नपर्ला भन्न सकिन्न । अहिलेसम्म राजनीतिक दलका भातृ संगठनहरु मौन देखिएका छन । आफुलाई ठुलो संगठन भनेर दाबी गर्ने, मेरो संगठनमा दुईचार सय पार्टी सदस्यता छ भन्दै दाबी गर्नेहरु लगभग दुलो भित्र लुकेर बसेका देखिन्छन । अझ केही केहीले त सामाजिक सञ्जालमा सहयोग गर्ने लिष्टमा मेरो संगठनको नाम किन लेखेको भन्दै प्रश्न पनि तेर्स्याएको देखियो ।

हामी राजनिती गरौ, तर श्रमिकको पिडामा नगरौ । अस्पतालको शैयामा लडेका, छटपटिएका जीवनहरुका जीवन बचाउने कुरामा होडबाजी गरौ । कसले बढी सहयोग गर्ने भनेर होडबाजीको राजनीति गरौ ।

आज हामी जीवनको जीवन रक्षार्थ त्यति ठुलो रकमको जोहो गर्ने तरखरमा छैनौ । उपचारको शुरुवाती खर्च जम्मा २० हजार दिर्हाम मात्रै रहेछ । त्यस पछीको खर्च कती हो भन्ने अहिले नै यसै भन्न सकिने अवस्था छैन । उनलाई उपचारको लागि शारजाहबाट कुबेती अस्पतालबाट फुजैराह लैजाने तयारी हुँदैछ । जीवनको उपचारको लागि राम तामाङ, रेशम लामा, रमेश श्रेष्ठ, पूजन खरेल, बिनिता बिमली, क्रिश सुनार लगायतका साथीहरु र बिभिन्न संघसंस्थाको भूमिका सह्रानिय छ ।

हामी सँग के कुरा अझै पनि यादगर छ भने, सन २०१२ तिर युएईको अदालतले मृत्‍युदण्डको सजाय सुनाइएका अनिश खालिङ राईले पीडितलाई तिर्नु पर्ने ब्लडमनी संकलनमा युएईका बिभिन्न संघसंस्थाको एकता अभुतपूर्व थियो । कसले बढी पैसा उठाउने र अनिश खालिङ राईलाई मृत्‍युदण्डबाट जोगाउनेमा प्रतिस्पर्धा थियो । देश बिदेशबाट सहयोगको राशी मनग्गै संकलन भएको थियो । तर अनिश खालिङले तिर्नु पर्ने ब्लडमनी अरु कसैले तिरिदिएको थियो ।

अनिश खालिङ नेपाल पुगे पछी उनले भनेः यो पैसा म जस्तै आपतमा परेका नेपालीको लागि खर्च गरिनेछ । अनिश खालिङ बचाउ अभियानका सुजन खालिङले साढे ३ करोड उठेको जनाउदै एक ट्रस्ट मार्फत सेवामा खर्च गरिने बताए । तर आज उठेको त्यो पैसा कहिले सरकार र कहिले ट्रस्ट भन्दा भन्दै यहाँ सयौं जीवनहरु जीवन मरणको दोसाँधमा जिउनु परिरहेको छ । यदी उठेको त्यो रकम सदुपयोग भईदिएको भए सायद आज २०-३० हजार दिर्हाम (८-१० लाख रुपैयाँ) संकलन गर्न यति गार्हो पर्ने थिएन ।

अनी त्यो हामीले सरकारलाई तिरेको १,००० रुपैयाँ, के का लागि !  यसरी नै अस्पतालमा छटपटाउन हो ? यसरी नै चन्दा मागेर हामीलाई उपचार गराउन हो ? तसर्थ, हामीले अब नेपाल सरकारको आँखा खुलाउन जरुरी छ । हाम्रा आवाजहरुलाई बुलन्द बनाउन जरुरी छ । हामीलाई बैदेशिक रोजगारमा पठाएर देशले कमाएको रेमिटेन्सको एक एक हिसाब खोज्न जरुरी छ । हामीले तिरेको १,००० रुपैयाँको हिसाबकिताब सोध्न जरुरी छ ।

यी सबै गर्न जरुरी छ तर आज चाँही जीवन रानाको जीवन बचाउन जरुरी छ । सबै जुटौ । चौडा छाती बनाएर ।

सहयोग गर्न चाहनु हुनेले एनआरएनए, युएईका अध्यक्ष सुदीप बहादुर कार्कीको बैंक खातामा रकम जम्मा गरिदिन सक्नुहुन्छ ।

 


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार