• प्रशान्त ओझा

पछिल्लो समय नेपाल–भारत सम्बन्धबारे हुने सानादेखि ठूला बहसमा नेपालमा चीनको उपस्थिति बढेको विषय जबरजस्ती उछाल्ने गरिन्छ । खासगरी भारतीय पक्षले चीनले नेपालमा अनावश्यक चासो दिएको बताइरहन्छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुने विषय सार्वजनिक भएपछि भारत झन संशकित बनेको छ ।

बुधबार मात्रै भारतको एक अग्रणी थिंक ट्यांकले पनि नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्श निकालेको छ । भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनले नेपालको भारतसँग भन्दा पनि चीनसँग बलियो दुईपक्षीय सम्बन्ध रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण मुख्य हर्ताकर्ता रहेको संस्थाले आफ्नो आलेखमा चीनले नेपालमा ठूलो मात्रामा आर्थिक लगानी गरिरहेको पनि उल्लेख गरेको छ ।

नेपालमा चीनको प्रभाव बढ्दै गएको भन्दै भारतका राजनीतिक दल तथा कर्मचारी तहमा पनि पछिल्ला दिनहरूमा निकै चिन्ता बढेको देखिन्छ । उनीहरुको चिन्ता नेपालमाथि आफूहरुको एकल प्रभुत्व तोडिने संभावना बढेको भन्नेमा केन्द्रित छ । केपी ओली सरकारलाई चीन केन्द्रित भएको भनेर विस्थापनमा सक्रिय रहेको भारत प्रचण्ड नेतृत्वको सरकारबाट पनि सन्तुष्ट बन्न सकेको छैन । चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने, भारतीय कम्पनीलाई दिइएका विकासे योजना आफैं बनाउने घोषणा गर्नुले पनि भारत प्रचण्ड नेतृत्वको वर्तमान सरकारप्रति झन संशकित बनेको देखिन्छ ।

नेपाललाई कब्जा गर्ने भारतीय योजना

सन् १९५० को शान्ति तथा मैत्री सन्धिपछि नै भारतले नेपाललाई आफ्नो नियन्त्रणमा लिइसकेको छ । नेपालका हरेक गतिविधिमा भारतीय प्रभुत्व अहिले झन उत्कर्षमा छ । बेलायतको उपनिवेशबाट मुक्त भएसँगै भारतले नेपाललाई कब्जा गर्ने रणनीति अख्तियार गर्दै आएको हो । तर, पूर्ण रुपमा सफल भने हुन सकेको छैन ।

कतिपय कुटनीतिज्ञका अनुसार पछिल्लो समय भारतले नेपालप्रतिका केही नीतिहरुमा परिवर्तन पनि गरेको छ । खासमा उसले नेपाली पानी उपभोग गर्ने विषयमा केन्द्रित रहेर नेपालसँग विकासे सम्झौताहरु गर्ने नीति अबलम्बन गरेको कुटनीतिज्ञहरु बताउँछन् । भारतीय कांग्रेसका नेता डा. मनमोहनसिंह प्रधानमन्त्री भएकै बेलादेखि भारतले नेपाली पानी कब्जा गर्ने रणनीति अख्तियार गरेको थियो । भारतीय जनता पार्टी (भाजपा)का नरेन्द्र मोदी प्रधानमन्त्री बने पछि पनि नेपालको पानी ‘कब्जा गर्ने’ नीतिलाई भारतले अझ जोडदार रुपमा अगाडि बढाएको देखिन्छ ।

आफ्नो भूमिमा सिचाइँ सुविधा पुर्याउन नेपाली पानीको उपभोग गर्ने भारतको रणनीति हो । कोशी, गण्डक र महाकाली सम्झौतामा भारतले सिचाइँलाई पहिलो प्राथमिकता राखेको छ । यस्तै पञ्चेश्वर बहुउद्देश्यीय योजनाबाट पनि भारतले आफूलाई ७५ प्रतिशतसम्म पानी दिइनुपर्ने अडान राख्दै आएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि पहिलोपटक नेपाल भ्रमणमा आउँदा नरेन्द्र मोदीले नेपालको संसदमा गरेको संवोधनकै क्रममा भारतलाई नेपाली पानीको जरुरत रहेको बताएका थिए ।

भारतको अर्को स्वार्थ चुरे पर्वतका डुङ्गा र रोडामा जोडिएको छ । उत्तर प्रदेश, बिहारलगायत राज्यमा ठूलो मात्रामा भौतिक पूर्वाधार निर्माण गर्ने उसको योजना छ । सडकदेखि विभिन्न भवन निर्माणमा पनि भारतलाई ठूलो मात्रामा टिट्टी र ढुङ्गाको आवश्यकता पर्छ । त्यसैले भौतिक पूर्वाधार विकासका लागि चुरे क्षेत्रका ढुङ्गा र रोडा प्रयोग गर्ने भारतको योजना रहेको देखिन्छ ।

भारतको अर्को स्वार्थ हो, नेपालमा चाहेका बेला जे पनि गर्न सकियोस् । अहिलेसम्म उसले चाहेजस्तै भइरहेको पनि छ । नेपालका हरेकजसो राजनीतिक दलका नेताहरु कुनै न कुनै रुपमा भारतसँग जोडिएका छन् । र, एक हिसावले नेपाली नेताको आन्द्रा भुँडी भारतले जाँची सकेको छ । अहिले आफूलाई उच्च राष्ट्रवादी भन्ने केपी ओलीदेखि भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरेका प्रचण्डसम्मलाई भारतले परीक्षण गरिसकेको छ । र, उनीहरुले भारतलाई माइनस गरेर नेपालका लागि केही गर्ने अवस्था पनि छैन ।

पाकिस्तान र चीनको चर्को विरोध गरिरहेको भारतको अर्को योजना हो नेपाललाई पनि आफ्नो उक्त अभियानमा समावेश गर्ने । खासमा नेपालको ‘एक चीन नीति’लाई पविर्तन गराउन भारतले पहिलेदेखि नै प्रयास थालेको हो । नेपालमा आफ्नो प्रभाव बढाएर तिब्बती मामलालाई चर्काउने भारतको योजना छ । तर, अहिलेसम्म नेपालमा दलहरु ‘एक चीन नीति’प्रति  प्रतिबद्ध रहेकाले भारतको यो योजना सफल हुन सकेको छैन ।

त्यस्तै पाकिस्तानलाई दक्षिण एसियामा एक्ल्याउने भारतको अर्को योजना हो । उक्त योजनामा भारतले भुटान, माल्दिभ्स, बंगलादेशसँग एक प्रकारको सहकार्य नै गरेको छ । नेपाललाई पनि पाकिस्तानको विपक्षमा उभ्याउने भारतको प्रयास अहिले पनि जारी छ । त्यसैले अन्तर्राष्ट्रिय नीतिमा समान धारणा बनाउने विषयमा नेपालसँग भारतले सम्झौता नै गरिसकेको छ । खासमा संयुक्त राष्ट्र संघमा पाकिस्तानलाई एक्ल्याएर कश्मिरमा आफ्नो एकल बर्चश्व कायम गर्ने भारतको योजना छ । भारतले पहिलेदेखि नै कश्मिर मामलामा नेपालले पाकिस्तानको विरोध गरोस् भन्ने चाहान्छ ।

र, भारतको पछिल्लो रणनीति

भारतीय सञ्चारमाध्यमका अनुसार भारतले आफ्ना पूर्व सेना प्रमुख दलवीर सिंह सुहागलाई नेपालको राजदूत बनाएर पठाउने तयारी गरेको छ । हाल नेपालको राजदूत रहेका रणजीति रायको पदावधि सकिनै लागेको बेला भारतीय स्रोतबाटै यस्तो जानकारी आएको हो । भारतले पूर्व सेना प्रमुखलाई नेपालको राजदूत बनाएर पठाउनुमा उसको ठुलै स्वार्थ लुकेको देखिन्छ ।

खासगरी नेपालमा चीनको उपस्थिति बढेको भन्दै भारतीय पक्षले चिन्ता गरिरहेका बेला नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यास हुने खबरले उनीहरु थप अत्तालिएका छन् । नेपाल–चीनबीच सुरक्षा सहकार्य बढे आफूलाई खतरा हुन सक्ने भारतको ठम्याइ छ । खासगरी नेपालले अहिलेसम्म सेना तथा प्रहरीलाई आवश्यक पर्ने हतियार भारतसँगै खरिद गरेको छ । भारतमा नपाइने हतियार अन्य देशमा खरिद गरे पनि भारतकै बाटो भएर ल्याउनु पर्ने दुई देशबीच सम्झौता नै भएको छ । जसले नेपाली सुरक्षा मामिला पनि एकहिसाबले भारतको नियन्त्रणमा छ । चीनसँगको सैन्य सहकार्य बढे आफ्नो उक्त प्रभुत्व गुम्ने खतरा भारतले देखेको छ ।

चीनसँग केही साना हतियार खरिद गरेकै निहुँमा भारतले २०४५ सालमा नेपालमा नाकाबन्दीसम्म लगाएको थियो । यसबाटै बुझ्न सकिन्छ भारत कतिसम्म नेपालको सुरक्षा मामिलालाई आफ्नो नियन्त्रणमा राख्न चाहान्छ भन्ने । चीनसँग हुने सैन्य सहकार्य अन्तर्गत नेपालले पुनः चीनबाट हतियार खरिद गर्न सक्ने भारतीय अनुमान छ । अहिले नेपाली सेनासँग भएका सबै हतियारबारे भारतलाई जानकारी छ । नेपाली सेनासँग कति हतियार छ, त्यसको सबै विवरण भारतले राखेको छ । यस अवस्थामा नेपालले चीनसँग हतियार किने त्यो आफ्नोविरुद्ध प्रयोग हुन सक्ने उसको बुझाइ छ । जसलाई रोक्न उसले पूर्व सेना प्रमुलाई नेपालको राजदूतको रुपमा पठाउन लागेको हो ।

भारतका पूर्व सेना प्रमुख सुहागको नेपाली सेनाका प्राय सबैजसो जर्नेलहरुसँग राम्रो सम्बन्ध छ । अहिलेका प्रधान सेनापतिसँग उनको विशेष सम्बन्ध रहेको बुझिन्छ । नयाँ संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दी हटाउन पनि दुवै सेनापति (भारत सुहाग र नेपालका राजेन्द्र क्षेत्री)ले ठूलो भूमिका खेलेका थिए । नेपाली सेनासँग राम्रो सम्बन्ध भएका कारण भारतले सुहागलाई राजदूतको रुपमा पठाउन लागेको हो । भारतको योजना छ, कसैगरी पनि नोपल–चीनको संयुक्त सैन्य अभ्यास रोक्ने । सोही योजना अन्तर्गत सुहाग नेपालको राजदूत भएर आउन लागेका हुन् ।

 

– See more at: http://www.pathivaranews.com/2017/01/06/7256/#sthash.plFM1d9G.6evba8cx.dpuf


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार