भारतको राजधानी नयाँ दिल्लीबाट अन्यत्र नउडुञ्जेल मलाई म विदेशी भूमिमा छु भन्ने पटक्कै लागेन । नयाँ दिल्लीमा हामीले १५ दिन बस्नुपर्ने थियो । हामी त्यहाँको महिपालपुर शहरमा बसेका थियौं । नयाँ दिल्लीको जनसंख्या मात्रै १८ करोडभन्दा माथि छ । जुन नेपालको कूल जनसंख्याको ६ गुणाले ज्यादा हो । त्यहाँको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई भारतले विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएको दावी गर्छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गरिसकेपछि जहाजले धावनमार्गमा गुड्न मात्रै झण्डै आधा घण्टा लगाउँछ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलबाट घरेलु विमानस्थलसम्म पु¥याउन गाडीले पनि लगभग त्यत्तिक्कै समय लगाउँछ । त्यस अनुसार भारतको दावीलाई सही मान्न सकिन्छ

लेखक .रबिन्द्र श्रेष्ठ

नयाँ दिल्लीमा रहुञ्जेल मलाई म विदेशी भूमिमा छु भन्ने चाहिँ किन नलागेको भने त्यहाँ जहाँकहीँ नेपालीहरु भेटिन्छन् । वर्षाैदेखि नेपालीहरु त्यहाँ व्यापार, जागिरदेखि लिएर अनेक पेशा व्यवसाय गरेर बसेका छन् । नेपालका हरेक कुनाकाप्चाका नेपालीहरु त्यहाँ भेटिन्छन् । उसो त नयाँ दिल्ली रातभर नेपालीहरु जाग्राम बसेर मस्तसँग भारतीयहरु निदाउने शहर पनि हो । त्यहाँ बसुञ्जेल मलाई के लाग्यो भने नयाँ दिल्ली भारतको मात्रै राजधानी नभएर विश्वकै ठग तथा दलालहरुको समेत राजधानी हो । त्यहाँ स–साना स्ट्रीटचिटरदेखि लिएर विश्व हल्लाउन सक्ने ठग तथा दलालहरु समेत बस्छन् । तिनीहरुले ‘सक्दिन र हँुदैन’ कहिल्यै भन्दैनन् । विश्वका हरेक देश तथा शहर जाने ट्रान्जिट प्वाईन्ट हो– नयाँ दिल्ली । त्यहाँ मानिसहरु अनेक बहानामा पाइला–पाइलामा ठगिन्छन् । सामान्य टेम्पो ड्राइभरदेखि गाईडसम्मबाट सजिलै विदेशीहरु ठगिन्छन् त्यहाँ ।

यहाँ मैले विषय उठान गर्न चाहेको सन्दर्भ चाहिँ वैदेशिक रोजगारी सम्बन्धी हो । त्यहाँ रहुञ्जेल देशका अनेक कुनाकन्दराबाट आएका नेपालीहरुसँग हाम्रो भेट भयो । नयाँ दिल्लीमा हामी नेपालीले चलाएको रेञ्टुरेन्टमा खाना खान्थ्यौं भने भारतीयको लजमा सुत्थ्यौं । हामीले खाना खाने गरेको नेपाली रेष्टुरेन्टका मालिकको पेशा रेष्टुरेन्ट चलाउनु मात्रै थिएन । उनको मुख्य पेशा वैदेशिक रोजगारीका लागि नेपालबाट आएका युवाहरुलाई विभिन्न देशमा पठाउनु रहेछ । त्यो चाहिँ उनको मुख्य पेशा थियो । उनले आफ्नो रेष्टुरेन्टको नाम भने लुम्बिनी राखेका थिए भने उनको नाम विजयनारायण क्षेत्री । उनको रेष्टुरेन्टमा नेपाली लोकदोहोरीहरु गुञ्जिरहन्थे । रेष्टुरेन्टको किचेनमा कामदार नै १५–१६ जनाभन्दा बढी थिए । मैले त्यति धेरै कामदार किन चाहियो भनेर प्रश्न गर्दा उनी मज्जाले हाँसे । उनले भने– ‘खासमा यहाँको स्टाफ भनेको ऊ त्यही भाँडा माझ्ने एउटा सानो भाइ र म मात्रै हँु । अरु सबै केटाहरु जापान जान हिँडेका हुन् ।’

उनको कुराले म चकित भएँ । ‘मतलब ?’– मैले सोधेँ । उनले भने– ‘अब एक महिनाभित्र यहाँका सबै केटाहरु जापान पुग्छन् । पर्सी अरु ६ जना नयाँ केटाहरु नेपालबाट यहाँ आउँदैछन् भने निपर्सी यहाँ भएकाहरुमध्ये ८ जनाको फ्लाइट छ । हिजो ३ जना पुगे, यस्तै छ सर ।’ उनको कुराले मलाई धेरै कुरामा आशंका जन्मायो । सोधेँ– ‘जापानमा त स्टुडेन्ट भिषामा मात्रै त्यसरी जान पाइन्छ होइन र ? त्यसको लागि पनि जापानिज भाषा सिक्नु अनिवार्य छ । अहिले यहाँ भएका केटाहरुले भाषा सिकेका छन् त ? कि यहीँ सिक्छन् ?’ मेरो प्रश्नले उनी फेरि हाँसे । भने– ‘त्यो त सोझो कुरा भयो नि सर ! त्यसको लागि नयाँ दिल्ली किन आउनु प¥यो हजुर ? घरको ढिंडो खाएर नेपालमै भाषा सिके भइहाल्यो नि ! नेपालमा नसक्ने र नहुने कामका लागि न हामी छौं । ऊ त्यो बूढोदाइ हेर्नाेस् त ! (काम गरिरहेकाहरु मध्ये करिब ५५ वर्षजतिका व्यक्ति, जसलाई बाजे भन्दा रहेछन्–लाई देखाउँदै उनले भने) उनको उमेर अहिले भाषा सिक्ने हो त ? के सिक्छन् त्यो बाजेले ? उनी पनि जापान जान हिँडेका हुन् । (अर्काेलाई देखाएर भने) त्यो कालेकेटो बोल्न सक्दैन, लाटो छ– पर्सी अरुसँगै उनीहरुको पनि फ्लाइट छ । केलाई चाहियो भाषा ? कुरा बोले भाषा होइन, नबोले केको भाषा ?’ उनी हाँसे ।

‘मतलब ?’– मैले सोधेँ । ‘भाषा–सासा केही पनि चाहिँदैन । पासपोर्ट र चौध लाख रुपियाँ ल्याउनुस्, जापान पु¥याइदिन्छौं, काम दिन्छौं । भाषा भन्ने कुरा जुन देशमा गयो–बस्यो त्यहाँ बसिसकेपछि दुई–तीन महिनामा जानिहालिन्छ नि सर !’ उनले भने । म घोत्लिएँ । उनले कति सजिलै भने । ती केटाहरु उनको होटलमा मरिमरी काम गर्छन् । राति एउटै कोटामा लहरै सुत्छन् । खाना चाहिँ रेष्टुरेन्ट साहुले नै दिंदा रहेछन् । तर काम भने स्वयम्सेवकको गर्छन् । आफ्नो टिकट नआएसम्म उनीहरुले त्यहाँ काम गर्दा रहेछन् ।

‘ल भन्नुस् न त कसरी सम्भव छ यो ? तपाईंले काम गर्न सक्नु हुन्छ भन्ने के छ ग्यारेन्टी ? यिनीहरुलाई जापान पुगेपछि काम पाईन्छ नै भन्ने कुराको ठोकुवा कसरी गर्नुहुन्छ ? के इमिग्रेसनले यिनीहरुलाई रोक्दैन ?’ मैले सोधेँ । उनले भने– ‘तपाईलाई विश्वास लाग्दैन भने तपाईंको मान्छे ल्याउनुस् सर । तपाईंको क्लाइन्टले जापान पुगेर तपाईंलाई फोन नगरुञ्जेल मलाई एक पैसा पनि चाहिन्न, क्लाइन्ट पुगेपछि दिनुस् ।’ दलालहरु वैदेशिक रोजगारमा जानेहरुलाई क्लाइन्ट भन्छन् ।

‘ठीक छ, ल भन्नुस् न त कसरी गर्न सक्नुहुन्छ यो काम ? मेरा पनि थुप्रै क्लाइन्टहरु छन् ।’ मेरो कुरा सुनेर उनले हौसिएर भने– ‘यो सबै सेटिङ मिलाएर गर्ने काम हो सर । तपाईंका क्लाइन्टहरु छन् भने प्रतिक्लाइन्ट दुई लाख दिन्छु म तपाईंलाई । काम हन्ड्रेड पर्सेन्ट हुन्छ । हजुरले हिजो बेलुकी खाना खान आउँदा देख्नुभएको क्लाइन्टहरु आज उडिसके ।’

उनको कुरा सही थियो । उनको रेष्टुरेन्टमा काम गर्नेहरु उनका आफ्नै क्लाइन्टहरु थिए । त्यसबापत उनले प्रतिक्लाइन्ट ६ लाख पाउँदा रहेछन् भने अन्य दलालहरुको मिलाई दिएबापत प्रतिक्लाइन्ट २ लाख लिंदा रहेछन् । त्यहाँ खाना खान आउनेहरु अधिकांश नेपाली नै हुन्थे र सबैको उद्देश्य एउटै अर्थात् वैदेशिक रोजगारी । नेपालबाट दलालहरुले वैदेशिक रोजगारीका लागि विभिन्न देशका लागि भनेर त्यहाँ ल्याउने रहेछन् । सामान्यतयाः अहिले जापान जानको लागि सबै खर्च मिलाएर करिब ९ देखि १२ लाख रुपियाँ लाग्ने मलाई थाहा छ । त्यसको लागि जापानिज भाषा अनिवार्य छ । फेरि त्यहाँ काम गर्न जाँदा जुन कामको लागि जाने हो त्यहाँको कम्पनीले नेपालमै फोन गरेर पहिले त्यो व्यक्ति सम्बन्धित ठाउँमा कार्यरत् थियो वा थिएन भनेर जाँझबुझ गर्ने गर्छ । कोरियाको लागि पनि भाषा अनिवार्य शर्त हो । खाडीमुलुकबाहेक विश्वका अन्यत्र देशहरुमा भाषा अनिवार्य र पहिलो शर्त मानिन्छ तर विजयनारायण अपवादमा देखिए । मेरो चासो उनीमाथि बढेको थियो । कसरी उनी दिनदहाडै खुलेआम मान्छे बेचिरहेका छन् र नेपालीहरु पनि बेचिन तयार भएका छन् !

हामी खाना खान जाने क्रममा उनीसँग नजिक भएका थियौं । स्वाभाविक रुपमा एउटा नेपाली र अर्काे नेपालीबीच विदेश भूमिमा सामीप्यता बढ्ने नै भयो । विदेशमा भेटिने नेपालीहरुबीच पहिलो कुरा भने राजनीतिको नै हुने गर्छ । विजयनारायणसँग पनि राजनीतिक कुरा नै बढी हुने गथ्र्याे । उनी नेता टाइपका मान्छे थिए । प्रत्येक दिनजसो हामी उनकोमा थुप्रै नेपालीहरु त्यसरी खाना खान खाएको देख्थ्यौं । कोही इजरायल, कोही कोरिया, नेदरल्याण्ड, पोल्याण्ड, मरिसस, लण्डन, डेनमार्क, अष्ट्रेलिया, मलेशिया, दुबई, कतारदेखि विश्वका जुनसुकै देशमा जान चाहने नेपालीहरुलाई हामीले त्यहाँ भेट्यौं ।

‘तपाईं जापानको काम मात्रै गर्नुहुन्छ कि अन्यत्रको पनि ?’ मैले सोधेँ । ‘अहिले मुख्य चाहिँ जापान नै हो, त्यसमा अलि बढी पैसा छ तर गर्न चाहिँ सबै देशको गर्छु ।’– उनले सोधे । ‘हामी यहाँ पन्ध्र दिनको सेमिनारका लागि आएका हौं, त्यसपछि फर्कन्छौं । भन्नुस् न कसरी सम्भव छ यो काम ? मेरा त थुप्रै पो छन् त जापान र कोरिया जान्छु भन्नेहरु ।’ मैले भनेँ । हाम्रो बसाईभरिको खाना उनकै जिम्मा भएकाले उनी नजिकिएका थिए । भने– ‘यहाँहरुलाई लुकाउने कुनै बात छैन सर । एअरपोर्टमा हाम्रो सेटिङ हुन्छ । त्यहाँका खासखास कर्मचारीहरुलाई हामीले पैसा ख्वाउँछौं । जापानको लागि उनीहरुले प्रतिक्लाइन्ट दुई लाख रुपियाँ लिन्छन् । उनीहरुको टाइमिङमा हामी क्लाइन्ट उडाउँछौं । पैसा भएपछि ऐस्सा हुन्छ नि सर !’ उनी मज्जाले हाँसे । उनकोमा आएकाहरु उडिरहेकै थिए । त्यो हामी आपैmले देखेका थियौं । उनको व्यवसाय धेरै राम्रोसित फष्टाएको रहेछ ।

‘रिस्क हुन्न त ? कामको ग्यारेन्टी नि ? समात्यो भने त डुबिहाल्यो नि ?’ मैले भनेँ । उनले उत्तर दिए– ‘रिस्क त मान्छेको जीवनभरि नै रिस्क नै रिस्क हो नि सर । अहिले मरिन्छ वा भरे के ठेगान ? रिस्क छ भनेर थोडी बाँच्न छोड्छ मान्छे ? इमिग्रेसन कटेपछि रिस्क हुन्न, क्लाइन्ट उड्छ । क्लाइन्ट एअरपोर्टमा पुगेपछि त्यहाँ एजेन्ट (दलाल) आउँछ, उसले लिएर जान्छ, काममा लगाउँछ । अहिलेलाई जापानको राजधानी टोकियोभन्दा टाढाको गाउँमा लगेर काममा लगाउँछ । दुई तीन वर्षमा भाषा सिकिन्छ, टन्न गाँठ कमाउँछ, लिएको ऋण पनि तिरिन्छ, त्यहाँ पुलिसको चेकिङ हुन्न कदाचित् भइहालेमा पैसा ख्वाएर सकेसम्म मिलाईन्छ वा क्लाइन्टलाई पनि लाग्यो अब नेपाल फर्कने भन्ने भएमा हात उठायो, सरेण्डर ग¥यो बस् सकियो ।’ उनले यति सजिलोसँग भने कि जापानको नीति, नियम र कानून उसैको बाउले बनाएको हो ।

नयाँ दिल्लीमा विजयनारायण क्षेत्रीजस्ता सयौं मानिसहरु हामीले भेट्यौं । तिनीहरुले भारतीय रासन कार्डसमेत बनाएका हुन्छन् । भारतीय रासन कार्ड भनेको नेपालमा नागरिकता लिए जत्तिक्कै हो । रासनकार्ड पाएपछि उनीहरु कानुनतः भारतीय नागरिक हुन्छन् । उनीहरुले जग्गाजमिन खरिद गर्न र भोट हाल्न सक्छन् । भारतमा बसेर त्यसरी भारतीय रासन कार्ड लिने नेपाली दलालहरुले नेपाली नागरिकता त्यागेका हुँदैनन् । उनीहरुले दोहोरो नागरिकता धारण गरेका हुन्छन् तर भारतीय राहदानी भने लिंदैनन् । भारतीय राहदानी लिनलाई उनीहरुले नेपाली नागरिकता त्याग्नुपर्ने हुन्छ जो उनीहरु गर्न चाहँदैनन् । भारतभरि कानुनी काम गर्न उनीहरु भारतीय रासन कार्डको प्रयोग गर्छन् भने भारतबाट बाहिर जान वा नेपाल फर्कन भने नेपाली राहदानी र नागरिकता प्रयोग गर्छन् । कदाचित् कानूनी फन्दामा परेमा उम्कन सजिलो होस् भनेर उनीहरु त्यसो गरेका हुन् ।

वैदेशिक रोजगारीका लागि काम गर्ने विजयनारायण जस्ता दलालहरु नेपाल–भारत निर्वाध आवतजावत् गर्छन् । उनीहरुले नेपालमा देखाउनको लागि म्यानपावर वा कन्सल्टेन्सी अफिस खोलेका हुन्छन् । त्यो नेपाल सरकारलाई देखाउने दाँत मात्रै हो । असली भित्री दाँत भनेको वैदेशिक रोजगारीका लागि अवैध रुपमा मानव ओसारपसार गर्न भारतमा खोलिएका सानातिना व्यवसाय जस्तै होटल, ट्राभल एजेन्सी, म्यानपावर वा कन्सल्टेन्सी अफिसहरु हुन् । वैदेशिक रोजगारीमा जानेहरुलाई उनीहरुले सजिलैसँग ठगिरहेका हुन्छन् । नेपाल सरकारले त्यसमा नियन्त्रण गर्न सकेको छैन । प्रशासनले कहिलेकहीँ कडा गरेको देखिएमा उनीहरु भारत जान्छन् । त्यहीँबाट आफ्नो व्यवसाय चलाउँछन् अनि स्थिति सहज भएपछि पुनः नेपाल फर्कन्छन् । वैदेशिक रोजगारीको नाममा मानव ओसारपसार गर्ने दलालहरुको व्यवसाय निर्वाध फष्टाइरहेको छ । उनीहरु विना लगानी, विना श्रम करोडौं कमाइरहेका हुन्छन् अनि सरकार करमा भर गरिरहेको हुन्छ– मान्छे बेचेको कर ।

वास्तवमा हाम्रो देश श्रम बेच्ने देश हो । नेपाल राज्य अस्तित्व आएदेखि नै राज्यले श्रम बेच्दै आएको छ । विदेशमा नागरिकको श्रम बेचेर राज्यले चलेको छ । तत्कालीन् इष्ट इण्डिया कम्पनीसँग गरिएको सुगौली सन्धीपश्चात् गोर्खा रेजिमेन्ट खोलेर त्यस बेलादेखि नै नेपाली युवाहरुलाई विदेशमा श्रमका लागि बेच्न सुरु गरिएको हो । त्यो बेलादेखि सुरु भएको श्रम बेच्ने सिलसिला अहिले आएर वैदेशिक रोजगारीको नाउँमा निर्वाध फष्टाइरहेको छ । राज्यले जनतालाई रोजगारी दिन सक्दैन ।

वास्तवमा हामी श्रम बेचुवा राष्ट्रका नागरिक हौं । हामीलाई राज्यले एकथान नागरिकता र पासपोर्टबाहेक अर्थाेक दिन सक्दैन । पासपोर्ट भनेको ‘जा बाहिर गएर अरुको राज्यमा रगत–पसिना बगा् अनि कर तिर्’ भनेको हो । वैदेशिक रोजगारीमा गएका युवाहरुको दिनहँुजसो नेपाल आउने बाकसबन्द लासले यही पुष्टि गर्छ । सरकारले त्यो लासमा, लासमाथि बग्ने आफन्तको आँसुमा पनि कर लगाए हुन्थ्यो । हामीले राज्यमा पटक–पटक सरकार परिवर्तन ग¥यौं, राज्यव्यवस्था परिवर्तन ग¥यौं, पटक–पटक संविधान परिवर्तन ग¥यौं, तर हामीले आफ्नो श्रम बेच्ने पहिचान परिवर्तन गर्न सकेनौं । मलेशिया, दुबई, इजरायल र कतार नेपाली श्रमले बनेका मुलुकहरु हुन् । जबसम्म देशका युवाहरु यसरी बाहिर जान रोकिन्न, तबसम्म देशको विकास सम्भव छैन । किनभने हाम्रो देश हामी आपैmले बनाउने हो, कोही विदेशीले आएर बनाइदिने होइन । राज्यले आफ्नो नागरिक बेचेर लिने करको भर जबसम्म गरिरहन्छ, तबसम्म हामी युगौं पछि परिरहने छौं ।

भारतको छोड्नुको एकरात अघि हामी अन्तिम चोटी विजयनारायणकोमा खाना खान गयौं । उनी मख्ख थिए । मलाई देखेर भने– ‘देख्नुभो त सर, त्यो बाजे (५५ वर्षका) र त्यो लाटो हिजो उडे नि !’ हामी छक्क प¥यौं । उनलाई वैदेशिक रोजगारीका लागि जाने क्लाइन्टहरुको कमि थिएन । उनलाई जम्मा दुईटा कुरा चाहिन्थ्यो, पहिलो– विदेश जान चाहने मान्छे र दोस्रो– जाने मान्छेसित पैसा । त्यति भएपछि लाटो, बहिरो, युवा, वृद्ध सबैलाई उनी उडाउँथे ।


प्रतिकृया दिनुहोस

Loading...

सम्बन्धित समाचार